बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री

  • प्रकाशित मिति : February 6, 2019
  • टुरिजम सञ्चार

भद्रपुर,माघ २३। झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ ।

पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उहाँले बताउनुभयो । उहाँका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव आज सकिँदैछ ।