कोशी टप्पुमा जलपंक्षीको गणना शुरु

  • प्रकाशित मिति : January 6, 2019
  • टुरिजम सञ्चार

सुनसरी,पौष २२। थरीथरीका चराहरुको प्रजातिका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा पाईने जलपक्षीको गणना शुरु भएको छ।कोशी टप्पु वन्यजन्तु आरक्ष,कोशी पंक्षी समाज,हिमाली प्रकृति र नेपाल पंक्षीविद संघको अगुवाईमा उक्त क्षेत्रको सिमसार आसपास पाईने जल चराको गणना शुरु भएको हो।

जलचराको अवस्था पत्ता लगाउन कोशी टप्पु र आसपासका ईलाकामा उक्त गणना शुरु गरिएको कोशी पंक्षी समाज,सुनसरीका संयोजक अनिष तिम्सिनाले बताए। प्रत्येक वर्षको अंग्रेज़ी महिना जनवरीमा गरिदै आएको चरा गणनाको पहिलो दिन जनवरी ५ तारिखमा चतराको सप्तकोशी नदीदेखि आरक्षको उत्तरी सिमानासम्म गणनासँगै शुरु गरिएको छ।

चराहरुको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग पुर्याउने उदेश्यसहित जलचराहरुको गणना शुरु गरिएको कोशी पंक्षी समाजका सहसचिव सञ्जीव आचार्यले जानकारी दिए।

चतराबाट शुरु गरिएको गणना कोशी टप्पु क्षेत्रमा पाँच दिनसम्म चल्ने बताईएको छ।