उच्च पहाडी भूभागमा पर्यटकको घुइँचो

  • प्रकाशित मिति : January 29, 2019
  • टुरिजम सञ्चार

गलकोट,माघ १५। बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ । जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यका र थामाको नेटा परेको छ ।

चिसोका कारण सुनसान बनेको ढोरपाटन शिकार आरक्ष कार्यालय रहेको उपत्यका क्षेत्रमा हिमपातपछि पुनः चहलपहल बढेको छ । जिल्ला सदरमुकामदेखि ढोरपाटन पुग्ने सडकको स्तरोन्नति भएसँगै यस वर्ष अहिलेसम्मकै बढी पर्यटक आएको स्थानीयवासीले बताएका छन् ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य ढोरपाटन र गाजाको दहप्रति पर्यटक आकर्षित भएका हुन् । केही दिनदेखि लगातार हिमपात भएसँगै ढोरपाटन उपत्यका, ढोरबराह क्षेत्र आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको स्थानीयवासीले बताए । पर्यटकको आगमन बढेसँगै होटलमा बस्न समस्या भएको छ । ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा अवस्थित छ ।