म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति तिव्र

  • प्रकाशित मिति : January 27, 2019
  • टुरिजम सञ्चार

म्याग्दी, माघ १३ । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ । मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम शुरु गरेको हो ।

सिमदेखि अधेरीखोला र अधेरीखोलादेखि टोड्के दुई खण्डमा सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, घुम्ती तथा मोड सुधार गर्न लागिएको सिम कोत्रवाङ खुम्ल्याह पैयुपाटा कुहूँ पूर्ण टोड्के सडक उपभोक्ता समितिका अध्यक्ष एकजित रोकाले जानकारी दिए ।

स्थानीयवासी, तत्कालीन गाविस र जिविसले २०६७ सालमा सिमदेखि टोड्के जोड्ने सडकको ट्रयाक खोलेका थिए । हाल तीनदेखि साढे तीन मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाउन लागिएको अध्यक्ष रोकाले बताए ।
मङ्गला गाउँपालिकाले सिमदेखि अधेरीखोलासम्मका लागि रु ३५ लाख र अधेरीखोलादेखि टोड्केसम्मका लागि रु १५ लाख बिनियोजन गरिएको छ । उपभोक्ताको १५ प्रतिशत जनसहभागितामा सडक स्तरोन्नति गर्न लागिएको हो ।
यो सडक स्तरोन्नति भएमा स्थानीयवासीलाई सुविधाका साथै टोड्केको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।