सुनसान बन्दै खुम्बु पर्यटकीय क्षेत्र

  • प्रकाशित मिति : January 26, 2019
  • टुरिजम सञ्चार

सोलुखुम्बु,माघ १२।पर्यटकीय सिजन सकिएसंगै सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्र सुनसान बनेको छ।पानी र हिमपातका कारण तापक्रममा कमी आएसङै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न तथा पिक आरोहण गर्न आउने पर्यटकहरु फाट्टफुट्ट मात्र भएकाले पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको हो। जाडोको मौसम भएकाले यहाँका पदमार्गमा पर्यटकहरुको आवतजावत कम हुने गर्दछ।हवाईमार्ग प्रयोग गरि आउने पर्यटक खासै नभएपछि तेन्जिङहिलारी विमानस्थल लुक्लामा उडान कम हुने गरेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ।सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यलय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरूलाई पर्यटकको चाप नभएपछि हल्का भएको छ।

पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सुचना केन्द्र समेत रहेको छ । केन्द्रले पर्यटकहरुलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरुले अपनाउनुपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनपर्ने कुरा लगायतका विषयमा पर्यटकहरुलाई जानकारी प्रदान गर्ने भएकाले कर्मचारी व्यस्त हुन्छन् त्यस्तै, अफ सिजनमा खुम्बुका होटल, पसल तथा अन्य पर्यटन व्यवसायीहरु जाडो छल्न काठ्माण्डौँ तथा तराईका विभिन्न क्षेत्रमा झरेपछि झनै सुनसान बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

खुम्बुमा अत्याधिक चिसो हुने भएकाले पुस र माघको मुख्य जाडो छल्न खुम्बुका व्यापारी अस्थायी बास सर्ने गर्दछन।आरोहण सिजनका लागि फागुन ५ पछि मात्र व्यवसायीहरु खुम्बु भित्रिने शेर्पाको भनाइ छ ।पर्यटनमार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँहरुमा रहेका होटलहरुका मालिकहरु होटलमा काम गर्नेलाई राखेर अन्यत्र हिडेका छन् । यस सिजनमा ३ हजार ६४ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् भने चालु आर्थिक वर्षको पाँच महिनामा निकुञ्जले सात करोड ७ लाख ११ हजार ६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।खुम्बु आउने पर्यटकमध्ये अमेरिकी नागरिक सबैभन्दा बढी खुम्बु पुगेकाछन् भने तथ्याङ्कअनुसार २ हजार ५३ बेलायती नागरिकले भ्रमण गरेका सगरमाथा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

त्यसबाहेक स्पेन, जर्मनी, फ्रान्स, चीन र अष्ट्रेलियाका नागरिक पनि खुम्बु भ्रमणमा आएका छन।