पाथीभरा क्षेत्र सेताम्मे,हिउँ खेल्न जाने पर्यटकको चहलपहल

  • प्रकाशित मिति : January 25, 2019
  • टुरिजम सञ्चार

ताप्लेजुङ,माघ ११।बुधबारदेखि परेको हिमपातले मुलुकका कतिपय क्षेत्रको जनजीवन प्रभावित बने पनि ताप्लेजुङको पाथीभरा क्षेत्रमा भने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बुधबार राती सम्म हिउँ परेर पाथीभरा क्षेत्र सेताम्मे बने पछि हिउँ खेल्न जाने पर्यटकको चहलपहल बढेको हो । विहिबार विहानैदेखि मौषम खुले पछि सदरमुकामबाट नकिजै पर्ने सुकेटारदेखि पाथीभरा क्षेत्र सम्म नै आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले बताएकाछन् ।

पाथीभरा क्षेत्र सम्म यातायातको सुविधा भएकाले र सो क्षेत्रबाट हिमाली क्षेत्रलाई नजिकैबाट अबलोकन गर्न पाईने भएकाले पनि पर्यटकका लागि उक्त क्षेत्र सहज बनेको छ । विहिबार दिनभर पाथीभरा मन्दिरको दर्शनमा आएका दर्शनार्थीले हिउँ खेलेरै दिन विताए । नजिकैका क्षेत्रबाट हिउँ खेल्न जानेको निकै चहलपहल देखिएको स्थानीयको भनाई छ ।

ताप्लेजुङमा निकै वर्ष पछि यो पटक बाक्लो हिमपात भएको छ । यो वर्ष यस अघि सुकेटार सम्म नै हिउँ परेको थियो । पछिल्ला केहि वर्ष यता सामान्य हिमपात हुँदै आए पनि यो वर्ष भने निकै हिउँ परेको स्थानीयको भनाई छ । हिमपातले उच्च क्षेत्रको जनजीवनमा सामान्य प्रभाव परे पनि खडेरीको मारमा परेका किसानलाई भने राहत मिलेको छ ।