माघेझरीको प्रभाव हिमालदेखि तराईसम्मै, हिउँ खेल्नेको घुईंचो

  • प्रकाशित मिति : January 24, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,माघ १०।माघेझरीको प्रभाव हिमालदेखि तराईसम्मै देखिएको छ । पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी परेको हो । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँसमेत परेको छ । काठमाण्डौ उपत्यका सहित देशका मध्य तथा पश्चिममी भेगमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमपातका कारण कतिपय ठाउँको जनजीवन कष्टकर बनेको छ । घरबाहिर निस्कन समेत गाह्रो छ, हिजोदेखि नै बाक्लै हिमपात भएकाले निकै चिसो भएको हो।

पश्चिम भेगका कम उचाई भएका ठाउँमा यसपटक बाक्लो हिमपात।

हिउँ परेपछि डाँडाकाँडा र गाउँ नै सेताम्मे बनेका छन् । १२ वर्षपछि बाजुराका बेसीसम्म नै हिमपात भएको छ । १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो।यस्तै कर्णाली प्रदेशका डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेखमा पनि वर्षासँगै हिमपात भएको छ ।

हिमपात भएका जिल्लामा घर बाहिर निस्कन मुश्किल।

पानी र चिसोले जनजीवन कष्टकर बनेको हो । घरभित्रै आगो बालेर बस्नुपर्ने अवस्था छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र म्याग्दीमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सडकमै हिउँ जमेपछि जोमसोम मुक्तिनाथ, जोमसोम लोमान्थाङ सडकमा गाडी चलेका छैनन् ।

त्यस्तै काठमाण्डौ उपत्यका सहित आसपासका क्षेत्रमा पनि गएरातीदेखि नै पानी परिरहेको छ । चन्द्रागिरी, फूलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँसमेत परेको छ । हिमपात भएका क्षेत्रमा हिउँ खेल्ने जानेहरुको घुईंचो छ ।

किसान उत्साहित
आकाशे पानीका भरमा खेतीपाती गर्ने किसानलाई भने हिउँदे वर्षाले खुसी बनाएको छ । हिउँदे बाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । खेतीबालीमा सिँचाई हुने, मल भिजेर बिरुवालाई फाइदा गर्ने खेतीबालीमा लागेका रोग किरा नष्ट हुने र उत्पादन समेत बढ्ने भएकाले किसान खुसी भएका हुन् ।

पर्वतीय उडान रद्द
वर्षा, हिमपात र चिसोले हवाई सेवा समेत प्रभावित भएको छ । आजका सबै पर्वतीय उडान रद्द भएका छन् । देशभर मौसम प्रतिकूल भए पनि अन्तर्राष्ट्रिय उडान र अवतरणमा भने समस्या नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मौसममा सुधार आउन अझै दुई दिन लाग्ने
मौसमविद्का अनुसार मौसममा सुधार आउन अझै दुई दिन लाग्नेछ । पश्चिमी वायूको प्रभाव नसकिंदै अर्को वायू आउने अनुमान छ । पानी रोकिएपछि केही दिन अझै चिसो बढ्नेछ ।

चिसोबाट जोगिन डाक्टरको सुझाव
पानी र हिउँ पर्दा किसान र पर्यटक रमाए पनि बालबालिका, बृद्धबृद्धा, सुत्केरी लगायतलाई समस्या परेको छ । चिसोबाट जोगिन न्यानो कपडाले सुरक्षित हुन र तातो झोलिलो पदार्थ खान डाक्टरले सुझाव दिएका छन् ।