इलामको ढापपोखरीमा पर्यटकको घुइँचो

  • प्रकाशित मिति : January 24, 2019
  • टुरिजम सञ्चार

इलाम,माघ १०। इलामको ढापपोखरीमा पर्यटकको चहलपहल बढेको छ । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको हो ।

५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थानका साथै सीमापारिको दार्जिलिङबाट समेत पर्यटक पुग्न थालेका छन् ।

दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो । पोखरी निर्माणका लागि मेची पहाडी विकास समितिले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ । ३ वर्षअघि संरक्षण शुरू गरिएको पोखरीमा डुङ्गा सञ्चालनको तयारीसमेत भइरहेको छ ।