हुम्लामा भारी हिमपात, माइनस तापक्रमले घर बाहिर निस्कनै मुस्किल

  • प्रकाशित मिति : January 22, 2019
  • टुरिजम सञ्चार

हुम्ला, माघ ८। हुम्लामा भारी हिमपात भएको छ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।

हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घर बाहिर निस्कन समेत समस्या भएको छ ।

अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।