मानव निर्मित शिव गुफामा दर्शनार्थीको चहलपहल बढ्दै

  • प्रकाशित मिति : January 18, 2019
  • टुरिजम सञ्चार

कपिलवस्तु ,माघ ४ । कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीडाँडास्थित मानव निर्मित शिव गुफामा दर्शनार्थीको चहलपहल बढेको छ । यसअघि प्रचारप्रसार नहुँदा छायाँमा परेपनि पछिल्लो समय गुफामा चहलपहल बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज अधिकारीले बताएका छन ।

मनले चिताएको पुग्ने जनविश्वास अनुसार पछिल्लो समय गुफामा श्रद्धालुहरुको चहलपहल बढ्दै गएको दर्शनार्थीहरु बताउँछन् । रिक्सा चलाएर पूजाआजा गर्दै आएका बाबाले वि.सं. २०५९ सालमा गुफा निर्माण गरेका थिए । मन्दिरमुनि शिवलिङ्ग रहेको सपना देखेपछि रातारात गुफा निर्माण गरेको बाबाले बताए ।

शिव गुफा जमिनमुनि झण्डै २५ फुट तल मन्दिरको ठीक तल रहेको छ । गुफाभित्र रहेका विभिन्न देवीदेवताका मूर्तिहरु आफैं उत्पत्ति भएको बाबाको भनाई छ । नेपालका कपिलवस्तु, रुपन्देही, नवलपरासी, दाङ लगायत छिमेकी देश भारतबाटसमेत दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको छ । यहाँ हरेक महाशिवरात्रिका दिन ठूलो मेलासमेत लाग्ने गर्दछ ।