पाटन दरवार क्षेत्रको पुर्ननिर्माण ५० प्रतिशत सम्पन्न

  • प्रकाशित मिति : January 17, 2019
  • टुरिजम सञ्चार

ललितपुर, माघ ३ । बिनाशकारी भुकम्प गएको ४ बर्ष पुग्नै लाग्दा पनि क्षतिग्रस्त ऐतिहासिक संरचनाहरुको निर्माण अझै सम्पन्न हुन सकेको छैन । उपत्यकामा क्षती भएका केहि सम्पदाहरु निर्माणकै चरणमा रहेका भएपनि पाटन दरबार क्षेत्रको निर्माण भने अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको छ । यसको अवलोकन गर्न दिनहुँ सयौं पर्यटक आउने गरेको स्थानियहरुले बताउने गरेका छन ।

बुधवार भुकम्प सुरक्षा दिवसका अवसरमा दरबार क्षेत्र अवलोकनमा पुगेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले सम्पदा क्षेत्र देशका ऐतिहासिक धरोहर भएको भन्दै जस्ताको त्यस्तै पुननिर्माण गर्ने बताएका थिए । ललितपुर मङ्गलबजारस्थित पाटन दरवार क्षेत्रका १९ वटा देव देवालयका साथै दरबारको पुर्ननिर्माणको जिम्मा काठमाडौ भ्याली प्रिजर्भेसन ट्रष्टलाई दिएको छ ।

पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिर पुननिर्माणमा ४ करोड ४७ लाख तथा हरिशंकर मन्दिरमा ५ करोड १८ लाख रुपैयाँ खर्च भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै मणि मण्डप पुननिर्माणमा २ करोड ४१ लाख, विश्वेश्वर मन्दिरमा २ करोड १६ लाख, पाटन कृष्ण मन्दिरमा ७६ लाख तथा मन्दिर अगाडीको योग नरेन्द्र मल्लको शालिकमा २७ लाख खर्च भएको छ । सुन्दरी चोक पुननिर्माणमा १ करोड ५८ लाख, तलेजु मन्दिरमा १ करोड ७६ लाख, बहादुर शाहको मुर्तिमा ७५ लाख तथा मुल चोक पुननिर्माणका लागि ३४ लाख रुपैयाँ खर्च भएको छ ।

पुरातत्व विभागका अनुसार दरबार क्षेत्रमा क्षति पुगेका मध्ये हालसम्म ५० प्रतिशत भन्दा बढि संरचना पुननिर्माण भईसकेको छ । बाँकी पुननिर्माणको काम आउँदो २ वर्ष भित्रमा गरिसकिने जनाइएको छ ।