नेपालकै सबैभन्दा ठूलो माघे सङ्क्रान्तिको मेलामा पाँच लाख भक्तजनको उपस्थिती

  • प्रकाशित मिति : January 15, 2019
  • टुरिजम सञ्चार

दमौली,माघ १ । देवघाटमा माघे सङ्क्रान्तिको मेलामा पाँच लाख भक्तजनको उपस्थिती भएको छ । देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले मेला भरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । देवघाटमा मेला भर्न सोमबार राति १२ बजेदेखि नै भक्तजनको घुइचो लागेको थियो ।

मेलास्थल कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल बेणीमा जानको लागि चितवनको देवघाटको झोलुङ्गेपुल, दासढुङ्गाको मोटरेबलपुल, ठिमुरा र जुगेडीको झोलुङ्गे पुलबाट भक्तजन आउन जान सक्ने व्यवस्था मिलाइएको थियो ।

चितवन र तनहुँ जोड्ने देवघाटको झोलुङ्े पुलबाट एक पटकमा बढीमा ६०० जनाले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी त्रिशूली नदीमा ८० वटा डुङ्गामार्फत भक्तजनलाई वारपार गराइएको थियो ।

माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाट धामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ भन्ने गरिन्छ । बराह पुराण, स्कन्द पुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि बशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सिताले समेत तपश्या गरेको पुराणमा उल्लेख छ । रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा बिलय भएको ठाउँ पनि देवघाटलाई नै मानिन्छ ।