किन मनाईन्छ माघे संक्रान्ति ?

  • प्रकाशित मिति : January 14, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,पौष ३०। मकर संक्रान्ति समेत भनिने माघे संक्रान्तिको धार्मिक,सामाजिक तथा वैज्ञानिक महत्त्व छ । माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।
माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने भनेर पनि बुझ्ने गरिन्छ । महिनौंको चिसोबाट शरीरको अङ्गहरु थाकेका हुन्छन् । शरीरबाट चिसो घटाउन घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि उपभोग गर्न सकिने सांकेतिक प्रचलन हो यो । यी सामाग्रीहरु खानाले शरीरमा ताप पैदा गर्ने तथा विभिन्न पौष्टिकता प्रवाह हुने धर्मशास्त्रीय तथा वैज्ञानिक मान्यता छ ।
यस दिन शरीरमा तेल पनि मालिस गर्ने प्रचलन छ । शरीरमा गढेर बसेको चिसो फ्याँक्न तेल मालिसले आन्तरिक तापमान वृद्धि गर्न सघाउ पुग्दछ।माघे संक्रान्तिमा उपभोग गरिने सामाग्रीबाट शरिरको आन्तरिक तापक्रम र पौष्टिकता प्राप्तिमा उल्लेख्य सहयोग पुग्छ।

माघे संक्रान्तिको बिहानै नदी, पोखरी वा पानीको स्रोतमा पुगी नुहाउने प्रचलन छ । कतिपयले घरैमा नुहाउने गर्छन् । नुहाइसकेपछि तिलको आगो ताप्ने चलन छ । यसबाट शरीरमा ताप प्रवाह हुने गर्दछ । धुनीको वरिपरि परिवारका सबैजना बसेर मिष्ठान्न भोजन खान्छन् । कतिपयले धुनीको तापले वर्षभरि गरिएको पापबाट मोक्ष मिल्ने विश्वास पनि गर्छन् ।

माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व भएकालेे यसले निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी मानिन्छ।

माघे संक्रान्तिको आफ्नै धार्मिक तथा पौराणिक महत्व छ।पुराणका अनुसार यो दिन भगवान सूर्य आफ्ना छोरा शनिको घरमा आउँने गर्दछन् ।पिता र पुत्रबिच मन नमिल्ने भएपनि मतभेदका बिच पिता सूर्य पुत्र शनिको घरमा आउने गर्दछन् र त्यहाँ एक महिना बस्दछन् ।माघे संक्रान्तिको दिनदेखी देवताहरुको दिन प्रारम्भ हुन्छ । यो दिनलाई मलमास समाप्तीको प्रतिकको रुपमा पनि लिइन्छ ।मकर संक्रान्तिको दिनमा भगवान विष्णुले नकारात्मक शक्तिहरुलाई नष्ट गरेको मानिन्छ । भगवान विष्णुले नकारात्मक शक्तिहरुको टाउकोलाई मंदार पर्वतको मुनी गाडेका थिए । यो दिन नकारात्मक शक्तिहरुको समाप्ति र नयाँ नैतिक जीवनको प्रारम्भको दिनको प्रतिक हो । महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान प्राप्त भएको थियो र उनले मकर  संक्रान्तिको दिनमा नै आफ्नो प्राण त्याग्ने निर्णय गरेको थिए । उनी मकर सक्रान्तीको दिनसम्म वाणहरुको शैयामा सुतिरहेका थिए र उनको आत्माले उनको शरिरलाई यहि दिनमा नै छोडेको थियो । जो मानिसहरुको मृत्यु उत्तरायणको दौरान हुन्छ उनीहरुले मुक्ति पाउने अर्थात उनीहरु स्थानान्तरगमनको चक्रबाट मुक्त हुने मान्यता रहेको छ ।

थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा माघी पर्व मनाउने गर्छन् । माघीको अवसरमा बिहानै थारू महिला एवम् पुरुषले स्थानीय नदी, तलाउ र पोखरीमा गई स्नान गरी आफ्नो मान्यजनका घरमा गई टीका लाउने आशीर्वाद लिइरहेका छन् । कामका सिलसिलामा घर बाहिर रहेका थारू समुदायका व्यक्ति पनि परिवारसँगै बसेर माघी मनाउन घर फर्किसकेका छन् । अघिल्लो दिनको रातिदेखि नै नाचगान गर्दै माघी मनाउन सुरु गरेका थारू समुदायले माघीको विशेष परिकार ढिक्री, मासु र जाँड खाने प्रचलन छ ।माघीको दिन थारूहरूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाई चामल, नुन, तरकारी र गेडागुडी दिने चलन छ । नयाँ वर्षका रूपमा मनाइने गरेको यस चाडमा थारूहरूले वर्षभरि गर्ने कामको योजना बनाउने तथा नयाँ मूलीको चयन गर्ने लगायतका निर्णय गर्छन् । मगर समुदायले पनि माघे संक्रान्ति पर्व विशेष हर्षोल्लासका साथ मनाउँछन् ।

माघे संक्रान्ति एक सांकेतिक पर्व पनि हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।

माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्‍याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरुबेला कसको भान्सामा के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।

माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।

माघे संक्रान्तिका अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी,कन्काई लगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।