मनास्लु क्षेत्रमा पर्यटक आगमन बढ्यो,गत बर्षभन्दा १० प्रतिशतले बृद्धि

  • प्रकाशित मिति : January 11, 2019
  • टुरिजम सञ्चार

गोरखा, पुस २७ । गोरखाको मनास्लु क्षेत्रमा एकबर्षयता सातहजार छ सय ४० जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार सन् २०१८ सालमा अघिल्लो बर्षको तुलनामा भ्रमण गर्ने पर्यटकको संख्या १० प्रतिशतले वृद्धि भएको हो । सन् २०१७ मा सो क्षेत्रमा छ हजार नौसय २८ जना विदेशी पर्यटक पुगेका थिए ।

एमक्यापको तथ्याँक अनुसार सन् १९९३ देखि अहिलेसम्म मनास्लु क्षेत्रमा ५२ हजार पाँचसय ८९ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
मनास्लु क्षेत्रमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै जर्मन, फ्रान्सका पर्यटकहरु आउने गरेका छन । सार्क राष्ट्रका पर्यटक भने जम्मा ८६ जना पर्यटक मात्र सो क्षेत्रमा पुगेका छन् ।

उक्त क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट एक करोड ६९ लाख ७१ हजार ५४० रुपैया राजस्व संकलन भएको एमक्यापले जनाएको छ । सो क्षेत्र प्रबेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार, अन्य राष्टूका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने व्यबस्था छ ।
मनास्लु क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, वीरेन्द्रताल, कल्छुमानताल, सयौं बर्ष प्राचीन श्रृङ्गीगुम्बा, पुङ्ेगन गुम्बा, राजेनगुम्बा, म्हुगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यस्तै वुद्धधर्म, तिब्बती संस्कार, संस्कृति, मौलिक भेषभुषा, रहनसहनमा पर्यटक रमाउने गरेका पर्यटन ब्यबसायीहरु बताउने गर्छन् ।