होमस्टेलाई सहकारी ढाँचामा चलाईनुपर्छ- मन्त्री खतिवडा

  • प्रकाशित मिति : January 10, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,पौष २६। अर्थमन्त्री डा.युवराज खतिवडाले होमस्टेलाई सहकारी ढाँचामा सञ्चालन गर्न सके अझ प्रभावकारी हुने बताएका छन।पर्यटकले काठमाडौंबाहेक भित्री नेपालको विविधता अवलोकन गर्न समेत रुचि राख्ने कुरा औल्याउँदै उनले पर्यटकको औसत बसाई लम्बयाउन होमस्टे एक उत्तम विकल्प रहेको बताएका हुन।

आजदेखि काठमाडौंमा शुरु सहकारी उद्यम प्रवर्द्धन राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले होमस्टेलाई सहकारी ढाँचामा लगे सरकारले सहयोग गर्ने समेत बताए।

“सन २०२० मा सरकारले २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ,सबै पर्यटक पाँचतारेमै बस्न सक्दैनन उनीहरुलाई हामीले पाँचतारेको विकल्प होमस्टे पस्कन सक्नुपर्छ।” उनले भने।
घरबासलाई सहकारीमा जोड्न सके घरेलु तथा साना व्यवसाय संचालन गरेर बसेका लक्षित वर्ग सजिलै लाभान्वित हुने उनको भनाई थियो।

तर संरक्षणको आडमा हुने गुणस्तहिन अत्याधिक मुनाफाको प्रतिस्पर्धालाई भने निरुत्साहित गर्दै लैजानुपर्ने उनले बताए।
सहकारीलाई निजिभन्दा भिन्न भएर प्रस्तुत हुन समेत उनले आग्रह गरे।