धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बसपार्क निर्माणमा स्थानियले दिए निशुल्क जग्गा

  • प्रकाशित मिति : January 10, 2019
  • टुरिजम सञ्चार

खोटाङ, पुस २६ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर बस्नेतले दुई रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले चार÷चार आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन ।
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी आउने दर्शनार्थीले जथाभावीरूपले सवारी साधन राख्दै आएकाले बसपार्कका लागि आ–आफ्नातर्फबाट लागि करीब रु तीन करोड बराबरको आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नगरप्रमुख इवन राईले बताए ।
बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएलगत्तै नगरपालिकाले निःशुल्क जग्गा जुटाउन पहल थालेकोे थियो ।
दर्शनार्थीको दैनिक बाक्लो भीड लाग्ने हलेसीमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि कम्तिमा पनि दश रोपनी जग्गा आवश्यक पर्ने भएकाले थप जग्गाका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ । प्राप्त जग्गामा कार्यालय भवन, आवास, कर्मचारी, यात्रु प्रतिक्षालय, शौचालय, धारा, बाथरुम, चमेनागृहगायत संरचना हुने नगरप्रमुख राईले बताए ।
सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्क बनाएको थियो ।