नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने अभियानमा गण्डकी प्रदेशको निरन्तरता

  • प्रकाशित मिति : January 10, 2019
  • टुरिजम सञ्चार

पोखरा,पुस २६ । सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक सङख्या २० लाख भित्राउने अभियान सुरु गरेसंगै गण्डकी प्रदेशले पनि उक्त अभियानलाई निरन्तरता दिन सुरु गरेको छ ।

आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताएका छन् । त्यसका लागि चालु आवको फागुनदेखि पोखरा–सिमरा, चैतमा नेपालगञ्ज–पोखरा सीधा हवाइ उडान संचालन गरिने उनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको सो कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्तरिक भ्रमण वर्ष सफल पार्न महत्वपूर्ण सुझाव दिएका थिए । प्रदेशमा आन्तरिक पर्यटक भित्राउन २०१९ मा कार्यक्रम गरिने र २०२० मा चीन र भारतबाट पर्यटक भित्राउने, २०२१ मा पोखरा विमानस्थलमा दैनिक ४ हजार पर्यटक उतार्ने र २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्राउने योजना सहित सरकार अघि बढेको मन्त्री लम्सालले बताए ।