चितवन, पुस २५ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ । विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् ।
चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ५ देखि २० सम्म चरा गणना गरिने छ । चरा र तीनको वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको उहाँले बताउनुभयो ।
पानीमा आश्रित चरासँगै अन्य चराको बारेमा समेत खोजी गरिन्छ । चितवनको ढुङ्ग्रे खोला, बूढी राप्ती, बिसहजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौँडालगायतका स्थानमा चरा गणना गरिने उहाँले बताउनुभयो ।
वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको जिन्दगानी घाँटदेखि सौराहासम्म चरा गणना गरिएको छ । त्यस्तै आज सौराहादेखि कसरासम्म गणना गरिने कार्यक्रम रहेको छ ।
न्युज २४बाट