कंसाकारसहित देवकोटा र अधिकारी मुख्य दोषी, मन्त्रीहरूलाई उन्मुक्ति !

  • प्रकाशित मिति : January 7, 2019
  • टुरिजम सञ्चार

काठमाडौ,पुस २३ । सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणमा अनियमितता गर्नेमा मुख्य दोषीका रूपमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई मुख्य दोषी करार गर्दै उनीहरूलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिको यो निर्देशनपछि अख्तियारले उनीहरूमाथि भ्रष्टाचारविरुद्धको मुद्दा अघि बढाउने बाटो खुलेको छ ।

समितिको निर्णयमा बहालवाला मन्त्री र पूर्व मन्त्रीहरूलाई नैतिक जिम्मेवारी मात्रै लिन भनिएकाले उनीहरूप्रति लेखासमिति केही लचक देखिएको छ । लेखा समितिको यो निर्णयले मन्त्री तथा पूर्वमन्त्रीहरूले यो प्रकरणबाट उन्मुक्ति पाउने लगभग निश्चित भएको छ ।

सोमबार बसेको समितिको बैठकले वाइडबडी घोटाला प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषीकारूपमा करार गरेको छ ।