पुल्चोकको राणाकालीन दरबार श्रीमहल दरवारको पुनःनिर्माण हुने

  • प्रकाशित मिति : January 5, 2019
  • टुरिजम सञ्चार

ललितपुर , पुस २१ । काठमाडौँ उपत्यका अन्तर्गत पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहल (पहिले श्रीदरबार) को पुनःनिर्माण हुने भएको छ ।

भूकम्पले भवनमा धेरै क्षति पु¥याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।

भवनमा कतिसम्म क्षति पुगेको छ भनेर कार्यालयले अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा प्रवलीकरण गरेर मात्रै नहुने, पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने उल्लेख छ । भूकम्प गएको लामो समयसम्म पनि यो भवन पूरै भाग भत्काएर नयाँ बनाउने कि, क्षति पुगेका भागमा मात्रै काम गर्ने भन्ने विषय छलफल भइरहेको थियो । भवनको डिजाइन गर्न पनि लामो समय लागेको थियो ।
राणाकालीन यो संरचना निर्माण भएको १०० वर्ष पुग्न लागेको छ । चार तले यो भवनको लागत रु एक अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

श्रीमहलअर्थात् श्रीदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गर्न लगाएको पाइन्छ । उहाँले दुईमुखे भवन बनाउन लगाउनुभएको थियो । आफ्नी कान्छी महारानी बालकुमारीदेवी र महारानीका जेठा छोरा विष्णुशम्शेरका लागि भनेर यो भवन निर्माण भएको थियो । भवन एकै पटक विसं १९७६ वैशाखमा बन्न शुरू भएको थियो र दुई वर्षमा यसको निर्माण सम्पन्न भएको तथ्याङ्क छ । त्यो दुईमुखे भवन पछि छुट्याइएको पाइन्छ ।

Photo : Himalkhabar