काठमाडौं,पुस १९ । सरकारले आगामी वर्ष २०७६ सालबाट लागु हुनेगरी थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई सार्वजनिक विदा दिने भएको छ ।
आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए ।
बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको छ ।
२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले थप पर्वमा विदा दिन लागेको हो । यस वर्ष कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले विदा घोषणा गरेका थिए ।