भ्रमण वर्ष २०२० लक्षित गरी नारायणी किनारमा महोत्सव गरिने

  • प्रकाशित मिति : January 3, 2019
  • टुरिजम सञ्चार

चितवन, पुस १९ । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’लाई सफल पार्ने लक्ष्य सहित चितवनको नारायणी किनारमा महोत्सव गरिने भएको छ । भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन र उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हुन लागेको ‘चितवन महोत्सव’ १२औँ संस्करण हुन लागेको हो ।

उक्त महोत्सवमा आठ विशेष कक्षसहित ५३० कक्ष रहने मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिएका छन । महोत्सवमा जिप सफारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना तथा बालुवामा कुदिएको २० फिट लम्बाइ र १० फिट चौडाइ भएको माछाको कलात्मक आकृति राखिने जनाइएको छ ।

त्यसैगरी विविध खेलकूदसँगै जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभूषा र कला संस्कृतिकसहितको कार्यक्रम रहने जनाइएको छ । महोत्सव आगामी पुस २५ देखि माघ ४ गतेसम्म हुनेछ ।