भरतपुरमा ‘हरित पार्क’ निर्माण गरिने

  • प्रकाशित मिति : January 2, 2019
  • टुरिजम सञ्चार

चितवन, पुस १८ । चितवनमा ‘हरित पार्क’ निर्माण हुने भएको छ । वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच पार्क निर्माणको लागी बुधबार सम्झौता भएको हो ।
विभागका महानिर्देशक झलकराम अधिकारी र महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रशासकीय अधिकृत सुवेदीका अनुसार १५ वर्षका लागि हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५ तथा उद्योग प्रतिष्ठानको वातावरणीय अनुगमनसम्बन्धी ३ नं प्रदेशको अभिमुखीकरण कार्यशाला गोष्ठीमा उक्त सम्झौता गरिएको हो ।

वातावरण विभाग र महानगरबीच भएको हरित पार्क निर्माणको सम्झौताले महानगरलाई हरियाली बनाउने अपेक्षा गरिएको महानगरप्रमुख रेनु दाहालले बताइन । प्रमुख दाहालले सडकमा फोहर फाल्नेलाई जरिवाना लगाइएको र त्यसको २५ प्रतिशत सूचना दिनेलाई पुरस्कार दिइने निर्णय गरिएको समेत बताएकी थिईन ।