८ करोड बक्यौता नतिर्ने नेकोन र कस्मिक एयरलाइन्स

  • प्रकाशित मिति : January 2, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,पौष १८। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ‘विमानस्थल सेवा शूल्क’ बापतको बक्यौता चुक्ता नगरी दुई एयरलाइन्स कम्पनीका मालिक वर्षौंदेखि सम्पर्क बाहिर छन्।

‘पैसा तिरेका छैनन् र तिराउने निकायले पनि के गरेको छ थाहा छैन’, नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको विमानस्थल कार्यालयमा कार्यरत एक कर्मचारीले ठट्ट्यौली शैलीमा सुनाए, ‘यो देशमा यसको सोधखोज गर्ने कसलाई फुर्सद?’

अहिले दुई वटै एयरलाइन्सको उडान अनुमति समेत खारेज भइसकेको छ। तर, एयरलाइन्स कम्पनीले ८ करोडभन्दा बढी बक्यौता तिरेका छैनन्। विमानस्थल कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि रकम असुलीमा कुनै चासो देखाएका छैनन्।

विमानस्थल कार्यालयका अनुसार बन्द नेकोन एयरले विमानस्थल सेवा शुल्क बापतको ४ करोड ६३ लाख ८५ हजार ५३ रुपैयाँ तिर्न बाँकी छ। तर, नेकोन एयरका प्रतिनिधि तथा मालिक सम्पर्कमा नरहेको विमानस्थल कार्यालयका प्रमुख बताउँछन् । उनले भने, ‘नेकोन एयरका तालुकदार कोही सम्पर्कमा छैनन्।’

‘बक्यौता रकम ८ करोडभन्दा बढी भएको छ’, उनले भने, ‘कार्यालयले अहिले रकम असुलीका लागि पत्राचार गरेको भएपनि कोही सम्पर्कमा आएका छैन।’विमानस्थल कार्यालयले सञ्चालनमा नरहेको एयरलाइन्ससँग असुल गर्नु पर्ने रकम असुलीका लागि नेपाल सरकारको ऐन नियमले दिएको अधिकार समेत प्रयोग गर्ने उनको भनाइ छ।