चितवन राष्ट्रिय निकुञ्ज प्लाष्टिक मुक्त क्षेत्र घोषणा

  • प्रकाशित मिति : January 1, 2019
  • टुरिजम सञ्चार

चितवन,पौष १७। चितवन राष्ट्रिय निकुञ्जलाई आजदेखि प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । अँग्रेजी नयाँ वर्षको सुरुवातको अवसरमा सौराहामा एक कार्यक्रमबीच चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभासद तथा वातावरण समितिकी सभापति रमा आले मगरले निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।

चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्दैमा सबै कुरा पुरा नभएको भन्दै कार्यक्रमका सहभागीहरुले यस अभियानलाई सफल बनाउन केन्द्रीय सरकारले नीति कानुन बनाउनेदेखि लिएर कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्ने दिशामा लैजान विशेष भुमिका खेल्नुपर्ने औल्याएका छन् । प्लाष्टिक मुक्त अभियान शुभारम्भसंगै निकुञ्ज भित्र प्लाष्टिकका झोला नलगी, लगेमा प्लाष्टिकका बोतल फिर्ता ल्याउने र अन्य प्लाष्टिकजन्य वस्तु तोकिएको स्थानका डस्टविनहरुमा राख्नका लागि निकुञ्जले अपिल गरेको छ ।

प्लाष्टिक मुक्त निकुञ्ज अभियानलाई सफल बनाउन कोका कोला, हिमालायन क्लाइमेट इनिसिएटिभ, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लु डब्लु.एफ नेपालले सहकार्य गरेको छ । शुभारम्भ कार्यक्रम मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।