गौतमबुद्ध विमानस्थलमा कार्गो भवनको शिलन्यास

  • प्रकाशित मिति : January 1, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार,पौष १७। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माण कार्य सुरु भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलको महत्वपूर्ण अंगको रुपमा रहने कार्गो भवनको शिलन्यास गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा २ वर्ष भित्र सम्पन्न गर्ने गरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसगँ सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ । भवन आठ हजार स्क्यावर मिटर क्षेत्रफलमा निर्माण हुनेछ । निर्माण सुरु भएको कार्गो भवन अन्तराष्ट्रिय मापदण्ड अन्र्तगत स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाका प्रमुखले बताए ।

एप्रोन देखि कार्गो भवनको बीचमा घाघरा खोला पर्ने हुदाँ विमान आउन मिल्ने गरी पुल निर्माण समेत गरिने छ । करिब ९ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेकोले कागजपत्रहरु माथिल्लो निकायमा पुगेको जनाउँदै रकम निकासा भएलग्त्तै मुआब्जा वितरण हुनेछ । त्यस्तै भवन शिलायन्स कार्यक्रममा मन्त्री अधिकारीले सम्झौताको म्याद अवधी भित्र भवन निर्माण सम्पन्न हुने स्वाभाविक भएपनि म्याद अवधीको ४ महिना अघि नै भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिए ।

ठेकेदारले २० महिना भित्र निर्माण कार्य सम्पन्न गरे सरकारले ठेकेदारलाई बोनस समेत उपलब्ध गराउने घोषणा गरे । उनले २०१९ को अगस्त महिना सम्म विमानस्थल तयार भएपनि सेप्टेम्बर महिनामा संचालनमा ल्याउने योजना अनुसार निर्माण कार्य जारी रहेको जानकारी गराए ।

यस विमानस्थललाई बेस बनाएर श्रीलंका, म्यानमार, चीन, कम्बोडिया लगायतका देशहरुले विमान संचालन गर्नका लागि निवेदन दिइरहेका छन् उनले भने विमानस्थल तयार पश्चात संचालनमा आउन कुनै समस्या छैन । विमानस्थल संचालनमा आएपश्चात यो क्षेत्रको नेपालको सबैभन्दा ठूलो पर्यटकिय गन्तव्य र आर्थिक रुपले सबल प्रदेशको रुपमा विकास हुने उनले बताए ।