सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख

  • प्रकाशित मिति : December 31, 2018
  • टुरिजम सञ्चार

सिन्धुपाल्चोक,पौष १६। सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ ।वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो ।

विभागका अनुसार उक्त वृक्ष म्याग्नोसिएसी परिवारको भएको र आसामी भाषामा रक्तमुल भनिने गरेको वनविज्ञले जानकारी दिए ।उनका अनुसार उक्त वृक्षको उचाइ २० मिटर हुने र गुदीदार फल लाग्ने हुँदा चराहरूले मन पराएर खाने गर्दछन् । उक्त वृक्ष पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा पाइए पनि हालसम्म सीमितरूपमा मात्र उपलब्ध छन् । उक्त वृक्षको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने विशेषता रहेको छ ।

त्यसको फल सुपारी आकारको हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भाग काँचो नरिवलको स्वादको हुन्छ । खाँदा मीठो लागेपनि एक/दुई दानासम्म खाँदा केही नहुने र त्योभन्दा बढी खाए रिँगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लाग्ने र विरामी पर्ने समस्या आउने गर्छ।

कसैले रामवुआ र कसैले रावुआ जस्ता भिन्नभिन्न नामबाट पुकारिने उक्त वृक्षको काठदाउरा स्थानीय कसैले पनि प्रयोगमा ल्याउने गरेका छैनन् । केही वर्षअघि एक स्थानीयले काठदाउरा प्रयोग गरेका र संयोगवश उनले परिवारका दुई सदस्यलाई गुमाउनुपरेपछि स्थानीयले त्यसैलाई दोषी मान्न थालेका छन् । वृक्षको नाममा भगवान् रामको नाम जोेडिएकाले अनिष्ट हुने आशङ्कामा कसैले प्रयोग नगरेको स्थानीय बताउछन् ।