सौन्दर्यकी रानी बराहपोखरी

  • प्रकाशित मिति : December 29, 2018
  • टुरिजम सञ्चार

खोटाङ,पौष १४। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोष दक्षिणमा पर्ने ‘बराहपोखरी’ लाई सौन्दर्यकी रानीको रूपमा लिइन्छ । झण्डै ५ किलोमिटर क्षेत्रफल ओगटेको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्छ।

चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्ने थलो बनेको छ। पानीको मुहान र त्यसको निकास नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा पनि पाइने हुँदा यहाँ पर्यटकको आकर्षण बढेको हो ।

दुई दिन पैदल यात्रा गरेर दिक्तेल बजार देखि टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोलापारी बराहपोखरी पुगिन्छ । यसैगरी उदयपुरबाट खोटाङ हुँदै र उदयपुरको सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाँध हुँदै पनि त्यहाँ पुगिन्छ ।

उक्त पोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास छ । बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने जनविश्वास छ।