धरानमा पार्क निर्माण गर्न डिपिआर तयार

  • प्रकाशित मिति : December 28, 2018
  • टुरिजम सञ्चार

धरान,पौष १३। पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ।

विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्र्तगत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको हो।

कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआरबमोजिम भानुचोक पुनःनिर्माण हुनसक्यो भने अहिलेको अस्तव्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुनेछ । बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ । उक्त क्षेत्रमा सवारी निशेध गरिने छ ।

भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैँचा, मान्छे हिँड्नलाई बाटो, गफिएर बस्ने ठाउँ, ठाउँ ठाउँमा पानीको फोहोरा निर्माण गरिने । भानुचोकमा पूर्णकदको भानुभक्तको सालिक हुनेछ । हाल अर्धकदको सालिक रहेको छ ।

भानुचोकलाई पार्कका रुपमा निर्माण गर्न बसपार्क सुन्दरबस्तीमा सार्न त्यहाँका स्थानीयवासीसँग छलफल भइरहेको र माघ पहिलो सातामा बसपार्क सार्न त्यहाँ संरचना निर्माण थालिने उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो ।