रामायण पार्क निर्माण योजना अलपत्र

  • प्रकाशित मिति : December 28, 2018
  • टुरिजम सञ्चार

बेनी,पौष १३। म्याग्दीको बेनी नगरपालिका ५ स्थित रावणको जन्मथलो मानिने पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अघि सारिएको ‘रामायण पार्क’ निर्माण योजना अलपत्र परेको छ । जिल्लाकै चर्चित योजनाका रुपमा अघि सारिएको उक्त रामायण पार्कको विस्तृत अध्ययन कार्य नै अन्योलमा परेको हो ।

गत वर्षदेखि रामायण पार्क निर्माण गर्न नगरपालिकाले बजेट विनियोजन शुरु गरे पनि गुरुयोजनाको अभावमा बजेट खर्च हुन सकेको छैन । नगरपालिकाले गत वर्ष रु ६० लाख बजेट रामायण पार्कका लागि विनियोजन गरेको थियो । गुरुयोजना नबन्दा उक्त बजेट रकमान्तर गरी बेनी–अर्थुङ्गे सडक स्तरोन्नतिमा खर्च गर्नुपरेको बेनपा–७ का वडाध्यक्षले बताए।

परामर्शदाताले सम्झौताबमोजिमको काम गरेको छैन भने शुल्कसमेत लगेको छैन् । पार्क निर्माण योजनामा यो वर्ष पनि रु ४० लाख बढी बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा लुकेर रहेका धार्मिक महत्वका क्षेत्रलाई उजागर गर्न नगरपालिकाले पार्कको अवधारणा अघि सारेको हो ।

रामायणमा बहुचर्चित खलपात्रका रुपमा चिनिएका रावणको जन्मस्थान बेनी नगरपालिका–५ पक्षैस्थित पौलस्त्य पुलहाश्रम क्षेत्र मानिन्छ । ब्रम्हाका १० छोरामध्ये पुलस्ति ( पुलस्त्य) र पुलह दुई भाइ हुन् । यी दुई ऋषिले पक्षैमा तपस्या र विश्व यज्ञ गरेको मानिन्छ । सो यज्ञमा होम गरिएको अग्निकुण्डमा अझै ठूलो ढुङ्गाले ढाकिएको अवस्थामा चरुको अवशेष रहेको स्थानीयवासी बताउँछन् ।