धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रम ओली

  • प्रकाशित मिति : December 27, 2018
  • टुरिजम सञ्चार

काठमाडौं, पौष १२। प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ। ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्य अन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो ।

धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । “नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन् । भूकम्पले नोक्सान भएका धेरै सम्पदा स्थल पुनःनिर्माण भइसकेका छन्”, विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले, “अब कुनै पनि बहानामा पुनःनिर्माण नरोकिने” बताउनुभयो।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले पुनःनिर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै निर्माणका क्रममा आउने धुवाँ धुलोलाई न्यूनीकरण गरी वातावरण प्रदूषण हुनबाट जोगाउनुपर्ने र धरहरा निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।