प्रधानमन्त्रीले धरहराको शिलान्यास गर्ने

  • प्रकाशित मिति : December 23, 2018
  • टुरिजम सञ्चार

काठमाडौं,पौष ०८। धराहरा पुनर्निमाणको शिलान्यास पुस १२ गते हुने भएको छ । धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका छन्।

विनाशकारी भूकम्पले भत्काएको ३ वर्ष ८ महिना पछि शिलन्यास गर्न लागिएको हो । शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले बताएका छन् । ‘धरहरा निर्माण क्षेत्रमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने काम भइसकेको छ । अब शिलन्यास लगत्तै धमाधम काम शुरु हुनेछ’, उनले भने ।

अहिले धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् ।

‘धरहराको ठूटोमाथि छत राख्ने काम सकिएको छ, अब चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लासले घेर्छौं’, उनले भने ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । मानन्धरका अनुसार कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।