इलाम,मंसिर २६ । लेप्चा समुदायको बाहुल्यता रहेको इलामको रोङ गाउँपालिकाले लेप्चा सङ्ग्रहालय निर्माण गरिने भएको छ । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले आगामी ५ बर्षभित्र निर्माण गरिने गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिए ।
गाउँपालिकाले बीसवर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय र घरबास निर्माण गर्न लागेको हो । यहाँका कोल्बुङ, इरौटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोबास रहेको छ । सङ्ग्रहालय निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटकहरु नयाँ स्थलको भ्रमण लिन पाउने विश्वास गरिएको छ ।
पछिल्लो समय लेप्चाका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातिय पहिचान झल्काउन र अस्तित्व बचाउनका लागि सङ्ग्रहालय निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।